काठमाडौँ । करिब एक महिनादेखि अवरुद्ध नेपाल–चीनलाई जोड्ने कोदारी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ । मुख्य चाँडपर्वको मुखमै पुनः सञ्चालनमा आएपछि चीनबाट आयात बन्द हुने हो कि भन्ने आशंका हटेको छ ।
सडक डिभिजन चरिकोटको प्राविधिक टोलीले विभिन्न स्थानमा खसेका पहिरो पन्छाएपछि राजमार्ग सुचारु गरिएको हो । अरनिको राजमार्गअन्तर्गत वाह्रबिसे–कोदारी सडक खण्डका पाँच ठाउँमा साउन १७ गतेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । बीचमा केही दिन आंशिक रुपमा सञ्चालनमा आए पनि भदौ ८ गतेदेखि पूर्णरूपमा बन्द थियो ।
पहिरोका कारण करिब २०० घर जोखिममा परेपछि स्थानीयले पनि सडक सञ्चालन रोक्दै आएका थिए । तर प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीयवासी र उद्योग–व्यापार संघका प्रतिनिधिहरूको संयुक्त भेलापछि असोज ३ गतेदेखि पहिरो हटाउने कामलाई तीव्रता दिइएको हो ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार राजमार्ग खुलाउन तीनवटा एक्स्काभेटर, तीनवटा लोडर र ४० जना मजदुर परिचालन गरिएको थियो ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा सामान बोकेका ट्रक नेपाल भित्रिन सकेका थिएनन् । रसुवागढी नाका समेत बन्द भएको अवस्थामा दशैंको बेलामा कोदारी राजमार्ग सञ्चालनमा आउँदा यात्रु मात्र होइन, नेपाल–चीनबीचको व्यापार पनि सहज हुने भएको छ ।