कागतीले उचित बजार नपाउँदा मारमा झापाका किसान

झापा । धानखेत मासेर छ वर्षअघि देखि कागती खेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ ।
आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनुभएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् ।

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताउनुभयो । “ठुलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,” उहाँ भन्नुहुन्छ, “बजार लग्यो बिक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागती खेती गरिएछ जस्तो लाग्न थालेको छ ।”

कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागती खेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउनुहुन्छ । न्यूनतम समर्थन मूल्य तोकेरे बिक्री नभएका कागती स्थानीय तहहरुले किनिदिने व्यवस्था हुन सके किसानहरुमा उत्साह थपिने उहाँको सुझाव छ ।

विगतमा चिया बगान मासेर व्यावसायिक कागती खेती गर्दै आउनुभएका बिर्तामोड नगरपालिका–६ का कमलराज विमलीले भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले यहाँको बजारलाई खर्लप्पै खाएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरू निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताउनुभयो । झापामा ३१० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएकामा हाल खेती घटेर २७० हेक्टरमा झरेको छ ।

कागती खेतीका लागि झापा उर्वर भूमि रहेको जनाउँदै उहाँले स्थानीय खपतले मात्र स्वदेशी कागतीको बिक्री धान्न नसक्ने बताउनुभयो । विगतमा बोटबाटै टिपेर राम्रो भाउमा कागती किनेर लैजाने व्यापारीहरू अहिले आउन छाडेको किसानहरू बताउँछन् । भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरू आकर्षित भएपछि किसानहरू साना सवारी साधनमा गाउँ र सहरका गल्ली चहारेर पोका पोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी आइपुग्नुभएका कुशल थापाले दिनभरि तातो घाममा डुल्दा दस किलो कागती बिक्री भएको बताउनुभयो । “हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जङ्गल छेउछाउका बासिन्दालाई अन्नखेती मासेर कागती खेती गर्न लगाइयो,” उहाँले भन्नुभयो, “अहिले आएर बिक्री हुन छाड्यो । फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्ने ?”

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादहलगायतका स्थानीय तहमा किसानले घरैपिच्छे कागती खेती गरेका छन् भने ठुलो क्षेत्रफलमा खेती गर्नेहरू बढेका छन् । खेती विस्तारसँगै बजारीकरणको सकस बढ्दै गएको छ ।
सरकारले कागती खेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

जिल्लामा कम्तीमा ३५० किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई यस खेतीमा लगाएका छन् । यहाँ सुन–१, सुन–२, मद्रासी, युरिका र एनपिआरपी–५५ जातको कागती खेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रूपमा प्रयोग गर्ने अचार र जुसलगायत ठुला उद्योगहरू स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।

धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रूपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदा हुने कृषि ज्ञान केन्द्रका प्रमुख विष्टको बताउनुहुन्छ । उहाँका अनुसार जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५.५देखि ६.५सम्म भएको दोमट माटो कागती खेतीका लागि उपयुक्त मानिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *