नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ सम्झौता

काठमाडौँ। चीनको चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडि) को १०औँ वार्षिकोत्सवको अवसरमा नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ सञ्चालन गर्न सम्झौता भएको छ।

सम्झौताअनुसार चीनको कोइलुङ र ललितपुरको गोटीखेल, ललितपुरकै खोकना र चीनको प्याङयाङ तथा नुवाकोटको किम्ताङ र चीनको गउँगाङबीच अनुभव आदानप्रदान गर्दै परियोजना सञ्चालन हुनेछ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले सिएफआरडि ले विगत १० वर्षदेखि खानेपानी, शिक्षा र गरिबी निवारणमा उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरीय सम्बन्ध थप मजबुत बनाउने र विकास सहकार्यको नयाँ युग सुरू हुने विश्वास व्यक्त गरे।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्वपूर्ण सहयोग पुगेको बताए। त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले पनि सिएफआरडि ले गरिबी निवारणमा खेलेको भूमिकालाई प्रशंसा गरे।

सिएफआरडि का निर्देशक चेन हानटाउले नेपालमा हाइब्रिड धानखेती, उच्चस्तरीय तरकारीखेतीलगायत कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा योगदान गरिरहेको बताए। कार्यक्रममा विपद् व्यवस्थापन र कृषिमा चीनका सफल अनुभव पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *