‘नेपाली कम्युनिष्ट पार्टी सबै पुस्ताको साझा घर हो’: झलनाथ खनाल

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टीलाई ‘बुढाबूढाको मात्र पार्टी’ भनेर व्याख्या गर्ने प्रवृत्ति गलत रहेको बताएका छन्।

आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ पार्टी सबै पुस्ता, वर्ग र समुदायको प्रतिनिधि बनेर अघि बढ्ने उद्देश्य रहेको बताए।

खनालले भने, “यो पार्टी बुढापाकाहरूको मात्र होइन, युवाहरूको पनि हो, बच्चाहरूको पनि हो, महिलाहरू, पुरुष र आम जनताको पार्टी हो।” उनले कम्युनिष्ट आन्दोलन मूलतः पाका, युवा र किशोर सबै पुस्ताको साझा अभियान भएको उल्लेख गर्दै नयाँ पार्टीले युवालाई प्रमुख भूमिकामा अघि सार्ने नीति लिने बताए।

अन्य दलहरूले आफ्नो पार्टीलाई ‘वृद्धहरूको पार्टी’ भनेर टिप्पणी गरेको प्रसंगमा खनालले ती टिप्पणीहरू निराधार रहेको बताए। “हामीलाई बुढापाकाको पार्टी भन्नु आवश्यक छैन, बरु सबैले आफ्नो ऐना आफैँ हेरे राम्रो,” उनले व्यंग्य गर्दै प्रतिक्रिया दिए।

वामपन्थी एकताबारे पनि नेता खनालले सकारात्मक संकेत दिँदै अशोक राई र राजेन्द्र श्रेष्ठ नेतृत्वका पार्टीहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। छिट्टै एकताप्रति ठोस प्रगति हुने विश्वास उनले व्यक्त गरे। “अशोक कमरेड र राजेन्द्र कमरेडसँग निरन्तर कुराकानी भइरहेको छ, केही समयभित्रै उनीहरूको पार्टी पनि एकीकृत हुन्छ जस्तो लाग्छ,” उनले भने।

त्यसैगरी, समाजवादी पार्टीबाट छुट्टिएको घनश्याम भूसाल समूहसँग पनि संवाद अगाडि बढिरहेको उनले बताए। “घनश्याम कमरेडसँग केही दिनअघि कुराकानी भएको थियो, फेरि निरन्तर संवाद हुन्छ,” उनले बताए, “उहाँहरूको विचार स्थिर भएपछि केमा एकता सम्भव हुन्छ भन्ने विषयमा छलफल गरेर उनीहरूलाई पनि एकता प्रक्रियामा समेट्ने प्रयास अघि बढाइन्छ।”

भूसाललाई मार्क्सवाद–लेनिनवाद र नेपाली विशेषतासहितको समाजवादको पक्षमा आफ्ना समर्थकलाई संगठित गर्दै एकता प्रक्रियामा योगदान दिन सुझाव पनि खनाले दिएका छन्।

खनालका भनाइले नयाँ एकीकृत कम्युनिष्ट पार्टी सबै पुस्ताको सहयात्रा बन्ने संकेत गरेको छ र वामपन्थी एकताबाट शक्तिशाली राजनीतिक संरचना तयार गर्ने प्रयास तीव्र बन्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *