नेपाली व्यापारीलाई चीनमा मित्रता पुरस्कार

काठमाडौं । चीनको चच्याङ प्रान्तीय सरकारबाट विदेशीलाई प्रदान गरिने ‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’ चच्याङ प्रान्तको यिऊ सहरमा बसेर व्यापार गर्दै आउनुभएका विष्णुप्रसाद डुमरूले पाउनुभएको छ।
‘वेस्ट लेक फ्रेन्डसिप एवार्ड’ चच्याङ प्रान्तको आर्थिक निर्माण र सामाजिक विकासमा उत्कृष्ट योगदान र समर्पणका लागि विदेशी विशेषज्ञलाई कदर गर्न प्रान्तीय सरकारले स्थापना गरेको पुरस्कार हो। सन् १९९७ मा पहिलोपटक प्रदान गरिएको सो पुरस्कार दुई वर्षमा एकपटक दिने गरिन्छ।
चिनियाँमा सिहु भनिने वेस्ट लेक अर्थात् पश्चिम ताल चच्याङ प्रान्तको सदरमुकाम हाङचौमा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र हो। विदेशी विशेषज्ञलाई सम्मान र प्रशंसा गर्न प्रान्तीय सरकारले सोही नाममा पुरस्कार स्थापना गरेको हो।
दुई देशबीच सुमधुर सम्बन्ध स्थापनार्थ विभिन्न क्षेत्रमा एउटा माध्यमको रूपमा आफूलाई उभ्याउँदै आएका विदेशी व्यक्तिहरूलाई सो पुरस्कारका लागि छनोट गर्ने गरेको छ।
२५ वर्षदेखि नेपाल र चीनबीचको व्यापार व्यवसायमात्रै होइन, नेपाली व्यापारी डुमरूले आफूलाई एक सहजकर्ता र व्यापारिक तथा सांस्कृतिक दूतका रूपमा समेत ढाल्दै लैजानुभएको छ। उहाँ नेप्लिज चेम्बर अफ कमर्स इन चाइना यिऊका अध्यक्ष पनि हुनुहुन्छ। नेपाल चीन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री यिऊ अफिस, नेप्लिज चेम्बर अफ कमर्स चाइना, गैरआवासीय नेपाल संघलगायतका नेपाल र नेपालीसित सम्बन्धित विभिन्न संघसंस्थामा पनि उहाँको आबद्धता रहेको छ।
हजारौँको संख्यामा रहेका विदेशी बीच यसरी प्रान्त स्तरमै फ्रेन्डसिप एवार्ड जितेबाट आफूलाई निकै हौसला मिलेको र समग्र नेपालीलाई कदर गरेको जस्तो लागेको डुमरूले बताउनुभएको हिमालप्रेसले लेखेको छ।
‘चीन नेपाल सम्बन्धलाई अझै उकास्न हौसला मिलेको छ। समग्र नेपालीलाई उच्च कदर गरेको महसूस भएको छ’, उहाँ भन्नुहुन्छ, ‘आशा छ भोलि प्रान्तीय स्तरमा मात्रै होइन राष्ट्रिय स्तरकै पुरस्कारबाट सम्मानित हुनेछ। चौतर्फी रूपमा दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन लागि परोस् भनेर नै यो कदर गरेको जस्तो लाग्छ।’
यसपटक सो एवार्ड यिऊ सहरका तीन विदेशीले पाएका छन्। नेपाली, भारतीय र यमनीले आआफ्नो क्षेत्रमा गरेको योगदान तथा दुई देशको सम्बन्धको विकासमा खेलेको भूमिकाका कारण दिइएको डुमरू बताउनु हुन्छ।
भारतीय नागरिक निरोजले यसअघि पनि यिऊमा विभिन्न पुरस्कार र सम्मानहरू पाउनुभएको थियो भने यमनका नागरिक, डाक्टर अम्मार अल्बादानी चच्याङको एक अस्पतालमा कार्यरत् हुनुहुन्छ। डुमरु भने आफ्ना अग्रजहरूको व्यापारिक मार्ग पछ्याउँदै चीनको हाङचौ प्रान्तको यिऊसम्म पुग्नुभएको थियो। सन् १९९९ देखि चीन व्यापार थालेका उहाँ पहिलोपटक सन् २००२ मा यिऊ आएको सुनाउनुहुन्छ।
उहाँलाई त्यतिबेला यिऊ सानो नेपाली गाउँ जस्तैलागेको थियो। झण्डै पाँच वर्षसम्म ओहोरदोहोर गरेपछि सन् २००६ देखि स्थायी सरहनै यिऊमा बस्न थाल्नुभएको हो।
उहाँले यिऊलाई एउटा सानो गाउँबाट कसरी विश्वको सबैभन्दा ठूलो खेलौना तथा ससाना वस्तु उत्पादन क्षेत्र बने भन्ने देख्नुभएको छ। यो यिऊ सहर विश्वमा साना सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्ने सबैभन्दा ठूलो कारखाना सहर हो। यहाँ २१ लाख प्रकारका वस्तुहरू उत्पादन हुने गरेको छ, जुन विश्वका कुनाकाप्चासम्म बिक्री हुने गर्दछ। यहाँबाट छुटेको कार्गो रेल युरोपसम्म पुग्छ।
डुमरूलगायत नेपाली व्यापारीले पनि यहाँबाट सिचाङ (तिब्बत)को बाटो हुँदै रेल र मालबाहक गाडीबाट नेपालसम्म ढुवानी गरेका छन् र यसको निरन्तरताका लागि पहल गर्दै आउनुभएको छ। उहाँ यिऊबाटै बेल्ट एन्ड रोडको माध्यमबाट नेपाली सरसामानलाई विश्वभर पुर्याउन प्रतिबद्ध पनि देखिनु हुन्छ
यिऊमा बसेर व्यापारबाहेक नेपाल चीन बीच आर्थिक, सामाजिक क्षेत्रमा सम्बन्ध उकास्न, इकमर्सको प्रवर्द्धन, इकमर्सको क्षेत्रमा शैक्षिक सहकार्य बढाउन, स्थानीय आर्थिक विकासमा यिऊ मोडेलको प्रयोग तथा कल्याणकारी गतिविधिहरूमा सक्रिय रूपमा स्वयंसेवकका रूपमा भाग लिने गरेकोले नै आफूलाई छनोट गरेको उहाँ मान्नु हुन्छ। साथै, उहाँ दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यो एउटा प्रेरणा र प्रोत्साहन भएको बताउनु हुन्छ।
हाल, यिऊमा विश्वका १२३ देश र क्षेत्रका ८,३०० भन्दा बढी विदेशीले वर्क परमिट लिएका छन् र परमिट होल्डरहरूको सङ्ख्या लगातार छ वर्षदेखि प्रान्तमा पहिलो स्थानमा छ। यसबाहेक करिब २०० नेपालीसहित झन्डै २५ हजार विदेशी यिऊमा बस्दैआएका छन्। प्रतिवर्ष क्रमशः ६ हजार नेपाली र ६० हजार विदेशी यिऊको भ्रमण गर्छन्।
यति धेरै विदेशी बीच विष्णुप्रसाद डुमरूले यिऊमा आफ्नो घर बसाएर कारोबार मात्रै गरेका छैनन् सँगसँगै दुई देश बीच मितेरी पुल बनेर जनस्तरमै योगदान पुर्‍याइरहनु भएको छ। यसर्थ, उहाँलाई पनि अरनिकोको पदचापमा हिँडिररहनुभएको आधुनिक अरनिकोभन्दा फरक पर्दैन। साथै, उहाँ दुई देश बीच दौत्य सम्बन्ध स्थापनापछि प्रान्तीय स्तरमा यसरी फ्रेन्डसिप एवार्ड पाउने सम्भवतःपहिलो नेपाली पनि हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *