देशभर सेना परिचालनपछि शान्ति–सुरक्षा कायम: स्थिति सामान्यतर्फ

काठमाडौं । आगजनी, तोडफोड र लुटपाटले दिनभर र रातिसम्म मुलुक आक्रान्त बनेपछि शान्ति–सुरक्षा कायम गर्न सरकारले नेपाली सेनालाई देशव्यापी रूपमा परिचालन गरेको छ । सेनाको नेतृत्वमा सुरक्षाकर्मी खटिएसँगै अवस्था नियन्त्रणमा आउँदै सामान्य बन्दै गएको छ ।

हिजो दिनभर र रातिसम्म देशका विभिन्न स्थानमा भएको आगजनी र तोडफोडपछि शान्ति–सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको हो । सोमबार राति १० बजेदेखि सेनाको नेतृत्वमा सुरक्षाकर्मी देशभर खटिएका छन् ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै शान्ति–सुरक्षा कायम गर्न र नेपाली नागरिकको जीवन–सम्पत्ति रक्षाका लागि खटिएको जनाएको छ । सेनाको उपस्थिति बढेसँगै आगजनी, तोडफोड र लुटपाटका गतिविधि नियन्त्रणमा आएका छन् । सेनाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको अवस्था क्रमशः सामान्यतर्फ फर्किएको छ ।

सम्वेदनशील क्षेत्र र सडकमा सेनाले सुरक्षा दिइरहेको छ । लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेका छन् । काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जना पक्राउ परेका छन् । सेनाले अराजक गतिविधि नगर्न चेतावनी दिँदै, आपराधिक वा अराजक गतिविधि भएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।

सुरक्षासंस्थाहरूको अपिल :

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै सार्वजनिक शान्ति, अमन–चयन, अपराध नियन्त्रण र अनुसन्धानमार्फत कानूनी शासन स्थापना गर्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानसेनापतिको आह्वान

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण समाधानका लागि आग्रह गर्नुभएको छ । उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै, असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई संयमित रहन अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *