रेखा लोप्चनको मानवीय अभियान: राक्सिराङ्गका ७५ बिपन्न परिवारलाई खाद्यान्न, ४५ बालबालिकालाई लत्ताकपडा सहयोग

काठमाडौं । सामाजिक अभियानता रेखा तामाङ लोप्चनले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाका अति बिपन्न परिवार लक्षित मानवीय सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले राक्सिराङ्ग गाउँपालिका वडा नं. ८ अन्तर्गतको बिकट गाउँ कुनालीमा बसोबास गर्दै आएका चेपाङ समुदायका ७५ घरपरिवारलाई खाद्यान्न तथा ४५ जना बालबालिकालाई लत्ताकपडा सहयोग गर्ने घोषणा गर्नुभएको हो।

यसअघि राक्सिराङ्ग गाउँपालिका वडा नं. ५ मा निसन्तान दम्पतीलाई घर उपहार दिएर चर्चा कमाएकी लोप्चनले सामाजिक न्याय र मानवीय सेवाको निरन्तरताका रूपमा यो अभियान अघि बढाउनुभएको बताउनुभएको छ। “मानवीय सहयोग अभावमा रहेका र बिपन्न वर्गका लागि हो,” उहाँले भन्नुभयो, “म समाजमा सामाजिक न्यायका लागि लामो समयदेखि सक्रिय अभियानता भएकाले यस्ता पीडित समुदायप्रति सहयोग गर्नु मेरो धर्म र कर्तव्य हो।”

मनहरी बजारबाट झण्डै ४–५ घण्टा पैदल यात्रा गर्नुपर्ने दुर्गम स्थानमा रहेको उक्त बस्तीमा विद्यालयसमेत नरहेको र विद्यालय उमेरका बालबालिका पढाइबाट बञ्चित हुनु परेको अवस्थाप्रति उहाँले गहिरो दुःख व्यक्त गर्नुभयो। दुर्गम भूगोल, भिरालो बाटो र पूर्वाधारको अभावका बीच पनि त्यहाँ पुगेर प्रत्यक्ष अवस्था अवलोकन गर्दा आफू भावुक भएको उहाँको भनाइ छ।

लोप्चनले सामाजिक सञ्जालमार्फत सामाजिक न्याय र मानवीय सेवाका लागि सहयोगको अपिल गरेपछि आर्थिक सहयोगसमेत संकलन भइसकेको जानकारी दिनुभयो। संकलित सहयोग लिएर केही दिनभित्रै खाद्यान्न र लत्ताकपडा वितरणका लागि गाउँ पुग्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार यो अभियान खाद्यान्न र लत्ताकपडामा मात्र सीमित रहने छैन। आगामी दिनमा बालबालिकालाई न्यानो कपडाको व्यवस्था गर्नुका साथै बिपन्न परिवारको खाद्य सुरक्षामा सहयोग र बालबालिकाको पढाइका लागि प्रारम्भिक पाठशाला सञ्चालन गर्ने योजनासमेत रहेको छ।

महान मानवीय सेवामा साथ दिने सहयोगीदाताहरूलाई “भगवानरूपी” भन्दै उहाँले सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *