बाढीले सडक बगाएपछि कोशी लोकमार्ग अवरुद्ध

सुनसरी । शुक्रबार रातभरीको अविरल वर्षाका कारण आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्ड बगाएपछि यातायात अवरुद्ध भएको छ ।

शनिबार बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार लेउती खोलामा आएको बाढीले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ । सडक बगेपछि दुवै तर्फका सवारी रोकिएका छन् ।

कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो । त्यहाँको अवरोध भने प्रहरीले पन्छाएको छ ।

सरदरभन्दा १५ दिन अगावै शुक्रबारबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुनको पहिलो दिन नै पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *