हुम्ला । बाँस र निगालोको चोयाबाट बनाइने परम्परागत डोकोडालो अहिले लोप हुने अवस्थामा पुगेको छ। जङ्गलबाट घाँस–दाउरा बोक्न, खेतबारीमा मल पुर्याउन र हाटबजारबाट खाद्यान्न ल्याउन अनिवार्य मानिने डोको अहिले गाडीको पहुँच र प्लास्टिकजन्य सामग्रीको प्रयोग बढेसँगै हराउँदै गएको हो।
अदानचुली गाउँपालिका–२ का भ्याल महताराका अनुसार, पहिला गाउँमा गाडी नपुग्दा खाद्यान्न बोकेर दिनौँ पैदल यात्रा गर्नुपर्थ्यो। तर अहिले गाडी सहजै गाउँबस्तीमा पुग्ने भएपछि डोकोको प्रयोगसँगै डोको बुन्ने सीपसमेत हराउँदै गएको छ।
सर्केगाड गाउँपालिका–२ का जङ्ग फडेराले भने, “पहिले डोको, डाला, खा¥या, थुन्से, छाप्रीजस्ता सामग्री गाउँघरमा अनिवार्य थिए, तर प्लास्टिक र धातुका सामग्री बढेसँगै परम्परागत सामग्री लोप हुँदैछन्।” कच्चा पदार्थको अभावले निगालोको चोयाबाट बन्ने डोकासमेत बिक्री हुनै छोडेको उनले बताए।
एक दशकअघि ग्रामीण भेगका स्थानीयले बाँस–निगालोबाट बनेका सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्थे। प्रतिडोको पाँच सयदेखि आठ सय रुपैयाँमा बिक्री हुने गरेको थियो। तर अहिले युवा वैदेशिक रोजगारी र व्यापारतर्फ आकर्षित भएपछि यो सीप थाम्नेहरू घट्दै गएका छन्।
स्थानीयले यो पेसा लोप भएसँगै परम्परागत संस्कृति, सीप र आयस्रोत गुम्ने चिन्ता व्यक्त गरेका छन्।