काठमाडौं । टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको संख्या तीन पुगेको छ । एकजना भने फरार रहेका छन् ।
अख्तियारले पूर्व मन्त्री बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ ।
टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रकरणमा आयोगले पूर्व मन्त्री बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।
सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सत्तारूढ कांग्रेस नेता बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फौजदारी अभियोगमा मुद्दा दायर भएका एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको पनि सांसद पद निलम्बनमा रहेको छ । रायमाझी र लामिछाने अहिले पुरपक्षका लागि थुनामा रहेका छन् । सहकारी प्रकरणमै राप्रपाकी सांसद गीता बस्नेत फरार रहेकी छिन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् । उनलाई पनि अख्तियारको मुद्दा विशेष अदालतले सजाय तोकेको थियो ।