काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।
१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस-२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले भने, ‘राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने बित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्नसक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।’
मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रूपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए । उनले भने, ‘नवजवान युवाहरूले बिहे, व्रतबन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुँदा राष्ट्रिय महत्त्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहदाँ शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।’
प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
