सत्ता गठबन्धन रहरले नभइ आवश्यकताकाे उपज : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो ।

“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, मन्त्री पौडेलले भन्नुभयो, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ ।”

सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बन्नुभएका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उहाँले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बागलुङका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभयो। “जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जनमत बढी छ, विगतको चुनावी परिणाममा पनि हामी अगाडि छौँ, यहाँ अरु कसैले जित्ने सम्भावना छैन”, उहाँले भन्नुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *