प्रारम्भिक बाल्यकाल विकासको अभ्यासकर्ता र समर्थकको हैसियतले म जीवन–सीप, संस्कार, संस्कृति, चाडपर्व र सामाजिक व्यवहारहरूलाई बालमैत्री तरिकाले सिकाउनु पर्छ भन्ने कुरामा विश्वास गर्छु। वास्तवमा, म आफैँ पनि आफ्ना अभ्यासमा यिनै पक्षहरू समेट्दै आएको छु। बालबालिकाले आफ्नै परिवेश, संस्कार र समाज बुझून् भन्ने चाहना स्वाभाविक हो। तर यही नाममा हामी कहिलेकाहीँ आफूले कोरेको सीमारेखा नाघ्दै त छैनौँ भन्ने प्रश्न उठ्न थालेको छ।
केही दिनअघि सामाजिक सञ्जालमा एउटा तस्बिर देखेँ। एउटा विद्यालयमा “विवाह” अभ्यास गराइएको थियो। साधारण नाटक वा भूमिका खेल (role play) मात्र होइन। मण्डप थियो, जग्गे थियो, कन्यादान गरियो, दुलहा–दुलहीलाई राखेर फेरा घुमाइयो। हेर्दा त्यो बालबालिकाको गतिविधिभन्दा बढी वास्तविक विवाहकै प्रतिरूप जस्तो देखिन्थ्यो। त्यही क्षण मनमा एउटा प्रश्न आयो— हामी के अभ्यास गराउँदै छौँ? र किन?
हामी सबैलाई थाहा छ, व्यावहारिक सिकाइ आजको शिक्षाको मूल मन्त्रजस्तै बनिसकेको छ। किताबभन्दा बाहिर सिकाउने, अनुभवबाट बुझाउने, बालबालिकालाई सक्रिय बनाउने। यी सबै सकारात्मक पक्ष हुन्। तर व्यावहारिक सिकाइको अर्थ के जे पनि प्रत्यक्ष नक्कल गराउनु हो त? के बालबालिकाको उमेर, भावनात्मक स्तर र विकासात्मक चरणलाई नहेरी हामी वयस्कहरूको संसार उनीहरूमा थोपरिरहेका छौँ?
विवाह हाम्रो समाजको एउटा गहिरो संस्कार हो। यससँग सामाजिक, भावनात्मक, कानुनी र नैतिक आयाम जोडिएका छन्। यो केवल एउटा उत्सव वा कार्यक्रम मात्र होइन। यस्तो विषयलाई बालबालिकासँग कसरी, कति र कुन स्तरमा चिनाउने भन्ने कुरा अत्यन्त संवेदनशील छ। कथा, संवाद, चित्र, नाटक, छलफल जस्ता माध्यमहरू प्रयोग गरेर विवाहको अर्थ, सम्बन्ध, जिम्मेवारी र परिवारको अवधारणा बुझाउनु एउटा कुरा हो। तर बालबालिकालाई दुलहा–दुलहीको भूमिकामा राखेर वास्तविक विवाहजस्तै दृश्य सिर्जना गर्नु अर्कै कुरा हो।
यहाँ प्रश्न विवाह सिकाउनु हुँदैन भन्ने होइन। प्रश्न हो— कसरी सिकाउने? र कति टाढासम्म जाने?
प्रारम्भिक बाल्यकाल विकासले सधैँ “बाल–केन्द्रित” अभ्यासको कुरा गर्छ। बाल–केन्द्रित भनेको बालबालिकाको दृष्टिकोण, उनीहरूको बुझाइ र उनीहरूको भावनात्मक सुरक्षालाई केन्द्रमा राख्नु हो। जब हामी बालबालिकालाई वयस्क भूमिकामा अत्यधिक डुबाउँछौँ, तब के हामी उनीहरूको स्वाभाविक बाल्यकाल खोस्दै त छैनौँ? खेल खेल्ने उमेरमा उनीहरूलाई सामाजिक प्रदर्शनको साधन बनाउँदै त छैनौँ?
अर्को महत्वपूर्ण पक्ष अभिभावक र समाजको अपेक्षा पनि हो। कहिलेकाहीँ विद्यालयहरू “नयाँ”, “अलग” र “देखिने” अभ्यास देखाउन दबाबमा हुन्छन्। सामाजिक सञ्जालमा राम्रो देखियोस्, विद्यालय फरक देखियोस् भन्ने चाहनाले हामी शिक्षाको मूल मर्म बिर्सन थाल्छौँ। बालबालिकाको सिकाइभन्दा बढी कार्यक्रमको तस्बिर र भिडियो महत्वपूर्ण बन्न थालेको हो कि भन्ने डर लाग्छ।
संस्कृति सिकाउनु र संस्कृतिको प्रदर्शन गराउनु फरक कुरा हुन्। जीवन–सीप सिकाउनु र वयस्क जीवनको अभ्यास गराउनु फरक कुरा हुन्। यी दुईको सीमाना निकै पातलो छ, तर यही सीमाना नै प्रारम्भिक बाल्यकाल विकासको नैतिक आधार हो।
हामीले आफैँसँग सोध्नैपर्छ—
के यो गतिविधि बालबालिकाको उमेरअनुकूल छ?
के यसले उनीहरूको भावनात्मक सुरक्षालाई असर गर्छ?
के यसले कुनै लैङ्गिक, सामाजिक वा सांस्कृतिक सन्देश बिना सोचाइ दिइरहेको छ?
के हामी सिकाइ गराउँदै छौँ, कि केवल नक्कल?
प्रारम्भिक बाल्यकाल विकास केवल गतिविधिहरूको सूची होइन। यो दर्शन हो। यसले बालबालिकालाई सम्मान गर्न सिकाउँछ। उनीहरूको बाल्यकाललाई सुरक्षित राख्न सिकाउँछ। “सबै देखाउन मिल्छ” र “सबै सिकाउनै पर्छ” भन्ने सोचबाट बाहिर निस्कन पनि प्रारम्भिक बाल्यकाल विकासले नै सिकाउँछ।
शिक्षक, विद्यालय र अभिभावक सबैले मिलेर यी सीमाहरूबारे संवाद गर्नुपर्ने समय आएको छ। व्यावहारिक सिकाइको नाममा हामी कहाँसम्म जान सक्छौँ र कहाँ रोकिनुपर्छ भन्ने स्पष्टता आवश्यक छ। किनकि आज हामीले कोरेको अभ्यास नै भोलिको सामाजिक सोचको आधार बन्नेछ।
अन्त्यमा, यो लेख कुनै विद्यालय, शिक्षक वा अभ्यासलाई दोष दिन लेखिएको होइन। यो एउटा सोच्ने निम्तो मात्र हो। हामी सबैलाई।
व्यावहारिक सिकाइको बाटोमा हिँड्दा, के हामी दिशासूचक पनि सँगै बोकेर हिँडिरहेका छौँ?
कि केवल दौडिरहेका छौँ— सोच्न बिर्सिएर?
उत्तर खुला छ। निर्णय पनि। जिम्मेवारी पनि।
रति शर्मा
प्रारम्भिक बाल विकास परामर्शदाता

