काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट दाबी गरेका छन्।
आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखकले गोली प्रहार, बल प्रयोग वा त्यससम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूबाट नदिइएको बताए।
उनका अनुसार यस्तो आदेश दिनुपर्ने न त कानुनी व्यवस्था नै छ, न त त्यसको कुनै आधार।
“मैले गोली चलाउने, बल प्रयोग गर्ने वा कुनै किसिमको आदेश दिएको छैन,” उनले भने, “त्यसका लागि न कारण छ, न कानुनी व्यवस्था।”
पूर्वगृहमन्त्री लेखकले आफू अत्यन्तै पीडित र मर्माहित अवस्थामा पदीय मर्यादा तथा नैतिकताको आधारमा राजीनामा दिएको स्पष्ट पारे। बल प्रयोगको मात्रा, तरिका र आदेशबारे आफूले केही पनि निर्देशन नदिएको उनको भनाइ थियो।
“मैले ‘कति बल प्रयोग गर्ने, कसरी गर्ने’ भन्ने कुनै आदेश दिएको छैन,” उनले जोड दिए, “तर घटनाले मलाई अत्यन्तै मर्माहत बनायो, त्यसैले पदीय मर्यादा र नैतिकताको आधारमा मैले राजीनामा गरेँ।”
पत्रकार सम्मेलनमा उनले भावुक हुँदै प्रश्न गरे, “के म कसैलाई मार्न आदेश दिन सक्छु ? यस्तो गलत कर्म मबाट हुनै सक्दैन।”
