चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक, सामाजिक र भूराजनीतिक अवस्थाबारे बुझ्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख चङ यौया (सरला) नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउने भएको छ। टोली आगामी साता तीन दिन नेपालमा रहने कार्यक्रम तय भएको छ।

भदौ २३ र २४ मा भएको ‘जेन–जी’ आन्दोलनसँग जोडिएको प्रदर्शन र विध्वंशपछि चीनबाट हुन लागेको यो पहिलो पार्टी–स्तरीय भ्रमण हो। ती घटनापछि नेपालमा पश्चिमा राष्ट्रहरूको प्रभाव बढ्दै गएको विश्लेषण भइरहेका बेला चिनियाँ प्रतिनिधिमण्डलको आगमनलाई चासोका साथ हेरिएको छ।

जेन–जी प्रदर्शन तथा विध्वंशमा चीनविरोधी धारणा बोकेको स्वतन्त्र तिब्बतसँग सम्बन्धित टिओबी (TOB) समूहको संलग्नता रहेको प्रमाण बाहिरिएपछि चीनले नेपालस्थित अवस्थाप्रति थप सतर्कता अपनाएको राजनीतिक वृत्तको बुझाइ छ। यस पृष्ठभूमिमा हुन लागेको भ्रमणलाई छिमेकी मित्रराष्ट्र चीनका लागि महत्वपूर्ण मानिएको छ।

भदौ २१ गते हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको यो भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा चङ यौया नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ।

चिनियाँ प्रतिनिधिमण्डलको यस भ्रमणले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय शक्ति सन्तुलन तथा आगामी राजनीतिक दिशाबारे नयाँ संकेत दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *