काठमाडौं । जेन–जी आन्दोलनको दौरानमा आगजनीका कारण क्षतिग्रस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनलाई तत्काल प्रयोग नगरी, अबदेखि संसदको बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ भवनमै बस्ने भएको छ।
ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निरीक्षणपछि जानकारी दिँदै आगामी पुसभित्र सिंहदरबार परिसरमा नयाँ संसद भवनको निर्माण सकिने र आगामी बैठकहरू त्यही भवनबाट सञ्चालन हुने बताए। उनका अनुसार हालको क्षतिग्रस्त भवन भने पुरानै स्वरुपमा पुनःनिर्माण गरिनेछ।
अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा पूर्णरुपमा जलेको बानेश्वर संसद भवनको निरीक्षण गरेको हो। मन्त्री घिसिङले तत्काल सरसफाइ र डिजाइन प्रक्रिया सुरु गरी अल्पकालीन र दीर्घकालीन योजना अनुसार पुनर्निर्माण अघि बढाइने बताए।