काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई रणनीतिक रूपमा असफल बनाउने गम्भीर प्रयास भइरहेको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश अहिले गहिरो संकटको घेरामा रहेको चेतावनी दिए। उनले भने, “राष्ट्रलाई असफल बनाउन खोजिएको छ, यस्तो अवस्थामा राष्ट्रिय एकता अत्यन्त आवश्यक छ।”
संविधान निर्माणमा माओवादी आन्दोलनको निर्णायक भूमिका रहेको स्मरण गर्दै उनले ७० वर्षदेखि अधुरो रहेको संविधान सभाबाट संविधान निर्माण जनयुद्धमा हजारौँको बलिदानबिनाको सम्भव नहुने दाबी गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई संविधानमा समावेश गर्न माओवादीले निरन्तर जोड दिएको उनले दोहोर्याए।
हालैको जेनजी आन्दोलनतर्फ इङ्गित गर्दै प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाए। माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको बताउँदै उनले प्रतिकूल परिस्थिति भए पनि आन्दोलनका माग सम्बोधन गरेर संविधानको रक्षा गर्न आफ्नो पार्टी अग्रसर रहेको स्पष्ट पारे।
“सङ्कटको समयमा देशलाई सहज निकास दिन र संविधानको रक्षा गर्न माओवादी केन्द्र प्रतिबद्ध छ,” प्रचण्डले जोड दिए।