काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने, सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन्।
बिहीबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन दलाल पुँजीवादको चङ्गुलमा फसेको र त्यसका कारण जनतामा निराशा चुलिएको बताए। संविधान र व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलहरूको संरचना र कार्यशैली भने पुरानै रहेको उनको टिप्पणी थियो।
भुसालले दलाल पुँजीवादले राजनीतिलाई कब्जामा लिएको र नेताहरूको गुटबन्दीले जनतालाई अपमानित तुल्याएको आरोप लगाए। उनले भने, “सत्ता, सरकार र नेताहरूको गुटले जनतालाई अपमानित गरेको छ। समाज बौलाएको छ, अब ध्रुवीकरण जरुरी छ।”
वामपन्थी आन्दोलनलाई एकजुट बनाउनुपर्नेमा जोड दिँदै उनले केन्द्रदेखि वडासम्म ध्रुवीकरण आवश्यक रहेको बताए। उनका अनुसार माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवाद दलाल पुँजीवादसँग ठोक्किइसकेकाले नयाँ मान्यता निर्माण गर्नुपर्ने अवस्था आएको छ।
भुसालले नेकपाका विप्लव, माओवादी केन्द्रका जनार्दन शर्मा र आफूले नयाँ पार्टी गठन नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने अभियान थालेको स्पष्ट पार्दै भने, “हामी तीन जनाले मात्र होइन, आन्दोलनमा चिन्तित सबैले माथिदेखि वडासम्म बहस गर्नुपर्छ।”
साउन ६ गतेदेखि सुरु भएको बहसले बुटवललाई केन्द्र बनाएर गति लिने उनको विश्वास छ। उनले देउवा, ओली, प्रचण्डदेखि रवि लामिछानेसम्मको नेतृत्वप्रति जनतामा असन्तुष्टि बढेको भन्दै नयाँ राजनीतिक निकास अपरिहार्य भएको बताए।