काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा देखिएका पछिल्ला घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियामार्फत युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार दृढताका साथ अघि बढिरहेको बताएकी छन्।
‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’को आयोजनामा आज टुँडिखेलमा सम्पन्न तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मेरुदण्ड स्वच्छ, निष्पक्ष र उल्लासमय वातावरणमा सम्पन्न हुने निर्वाचन रहेको उल्लेख गरिन्।
सबै मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै देशलाई राजनीतिक निकास दिने दिशामा सरकार निर्वाचन केन्द्रित भएर अघि बढेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरिसकेको प्रसङ्ग उल्लेख गर्दै यसले प्रतिनिधि सभा सदस्य निर्वाचन सुनिश्चित भएको स्पष्ट पारेकी छन्।
आसन्न निर्वाचन सफल बनाउन जिम्मेवार राजनीतिक दलहरू र युवाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उनले सबै पक्षको सहकार्यमा उत्साहपूर्ण ढङ्गले निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिन्।
शान्ति र सुरक्षाको पूर्ण प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचनमार्फत मुलुकलाई स्थायित्व र राजनीतिक निकासतर्फ लैजान सरकार अहोरात्र खटिरहेको बताइन्। त्यसका लागि सबै नागरिकलाई सरकारको प्रयासमा साथ दिन आग्रह पनि गरिन्।
