विज्ञान र नवप्रवर्तनमार्फत शिक्षा रुपान्तरण गर्ने महावीर पुनको दृढ संकल्प

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान र नवप्रवर्तनमार्फत शिक्षा रूपान्तरण गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विज्ञहरूको सुझावलाई प्राथमिकता दिने र “राम्रा सल्लाहलाई छिटो छरितो रूपमा कार्यान्वयन गर्ने” प्रतिबद्धता जनाए।

पुनले विज्ञान, प्रविधि, नवप्रवर्तन र व्यवहारिक अनुसन्धानलाई आफ्नो मुख्य कार्यसूचीमा राख्ने उल्लेख गर्दै भने, “जो जसले राम्रो सुझाव दिन्छन्, त्यसलाई तत्काल कार्यान्वयन गर्नेछु।”

सरल जीवनशैलीका कारण चर्चित पुन मन्त्री बन्नुअघि पनि आविष्कार केन्द्रमार्फत ग्रामीण क्षेत्रमा नवप्रवर्तनको अभियान चलाउँदै आएका थिए। ग्यासबाट शव दाह गर्ने भट्टी निर्माणको कामको निरीक्षण गर्दै गर्दा उनी मन्त्रीमा सिफारिस भएका थिए।

आर्थिक स्रोत जुटाउन उनले देशका ४५ जिल्लामा ५२६ दिनको यात्रामा आफ्नै पुस्तक “महावीर पुन: सम्झना, सपना र अविरल यात्रा” का २ लाख ४० हजार प्रतिलिपि बिक्री गरेका थिए। सामाजिक सञ्जालमार्फत हस्ताक्षरित पुस्तक विक्रि गरेर उनले आविष्कार केन्द्रका परियोजनामा सहयोग जुटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *