चितवन । ४५ घण्टासम्म रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड अन्ततः आइतबार बिहानदेखि सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा शुक्रबार साँझ गएको ठूलो पहिरो हटाउन निरन्तर प्रयासपछि आवागमन सुचारु भएको हो।
सडक डिभिजन कार्यालय चितवनका अनुसार दुवैतर्फबाट मेसिन प्रयोग गरेर निरन्तर काम चलाइएको थियो। पहिरो पन्छ्याउन तीनवटा स्काभेटर र लोडर प्रयोग गरिएको जनाइएको छ।
शनिवारभर पहिरो रोकिएर काम सहज हुने अपेक्षा गरिए पनि लगातार झर्ने माटोका कारण आइतबार बिहान ३ बजेसम्म सडक बन्द राख्नुपरेको थियो। अहिले सडक खुल्दा नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारीसाधन सहज रूपमा गुड्न थालेका छन्, जसले यात्रु र सरोकारवालालाई ठूलो राहत पुगेको छ।