आगो लगाउने होइन, देश बनाउनेलाई जिताउनुपर्छ’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई पराजित गर्नुपर्ने र कस्तालाई जिताउनुपर्ने भन्ने विषय जनतासामु स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र स्थायित्वविरुद्ध उभिने शक्तिलाई चुनावमार्फत पराजित गर्नुपर्ने धारणा व्यक्त गरे। ‘हामीले चिन्नुपर्ने र हराउनुपर्ने भनेका आगो लगाउनेहरू हुन्,’ उनले भने, ‘असंवैधानिक, लोकतन्त्र विरोधी, संसद् विघटन गर्ने र देशलाई अराजकतामा धकेल्नेहरूलाई जनताले चिनिसकेका छन्। राजनीतिक पार्टी र नेता नै चाहिँदैन भन्नेहरू नै मुलुकका लागि खतरा हुन्।’

चुनावी प्रचारमा जाँदा एमालेले विगतमा गरेका कामहरूको सूची लिएर जनतामाझ जानुपर्ने उनको भनाइ थियो। ‘एमाले नजित्ने कुनै ठाउँ छैन,’ ओलीले दाबी गरे, ‘जित्ने संकल्प गर्‍यो भने एमाले जहाँ पनि जित्छ।’

विकास निर्माणमा एमालेको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले रेल, सडक र पूर्वाधार विकासका उदाहरण प्रस्तुत गरे। ‘रेलको लिग बनाउने काम एमालेले गर्‍यो, जनकपुरमा आज रेल चलिरहेको छ,’ उनले भने, ‘पूर्व–पश्चिम रेल कहिले बन्छ भनेर जनताले हेरेर बसेका छन्।’

मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारदेखि नै एमालेले जिम्मेवारी पाएलगत्तै काम गरेर देखाएको ओलीको भनाइ छ। ‘जनताले हामीलाई काम गर्न भनेर जिम्मेवारी दिएका हुन्,’ उनले भने, ‘एमालेले नेतृत्व पाउँदा सधैं जनताको हित र विकासको पक्षमा काम गरेको छ।’

अध्यक्ष ओलीले संविधान निर्माणदेखि सुरुङ मार्ग र सडक विस्तारसम्मका उपलब्धि एमाले नेतृत्वकै पालामा सम्भव भएको उल्लेख गरे। ‘पहाडमुनिबाट गाडी छिर्छ भन्ने कुरा धेरैले कल्पनासमेत गरेका थिएनन्,’ उनले भने, ‘एमालेले त्यो सम्भव बनाएर देखायो।’

चुनाव जित्नका लागि ठूलो भाषण आवश्यक नरहेको बताउँदै ओलीले अन्त्यमा भने, ‘एमालेले विगतमा गरेका कामहरू जनताको बीचमा पुर्‍याए पुग्छ, त्यसैले चुनाव जितिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *