आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान ११ बजे चार समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

सोही समय बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *