काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । शनिवार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गोलीकाण्ड र त्यसपछिका घटनाक्रमबारे गम्भीर चिन्ता व्यक्त गरे ।
ओलीले भने, ‘सुरुमा गोली कसरी चल्यो भन्ने सोधखोज गरेँ । पछि थाहा भयो, १४ जनाको मृत्यु भएको छ, केहीको टाउकोमा गोली लागेको छ । यो कसरी भयो, मलाई चिन्ता छ । मैले छानबिन गर्न भनेको छु ।’ उनले घटनाले आफूलाई दुखी बनाएको बताउँदै सत्यतथ्य पत्ता लगाउन छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
उनले राजीनामा दिएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘भोलिपल्ट मैले आफ्नो हातमा केही नरहेको थाहा पाएँ र राजीनामा दिएँ ।’अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे जबाफदेही हुने प्रतिबद्धता जनाए । उनले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दालाई गम्भीरतापूर्वक लिएको बताए । ‘मैले ती समस्याको समाधान गर्न खोजेँ, तर त्यो दिन सम्भव भएन,’ उनले भने । उनले समाजमा शान्ति र सामाजिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै प्रहरीको हतियार खोसेर लिएकाहरूलाई तत्काल फिर्ता गर्न आग्रह गरे ।
‘समाजमा हतियारको स्थिति अन्त्य गरी शान्ति सुनिश्चित गर्नुपर्छ,’ उनले भने।