आयोगद्वारा फागुन २१ निर्वाचन लक्षित प्रारम्भिक तयारी सुरू

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति सार्वजनिक भएपछि निर्वाचन आयोगले आवश्यक तयारीको प्रारम्भिक चरण सुरु गरेको छ।

यसअघि कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही–३ को उपनिर्वाचन स्थगित गर्दै आयोगले अब सम्पूर्ण ध्यान मध्यमावधि निर्वाचनमा केन्द्रित गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको औपचारिक घोषणा भएपछि सरकारसँगको परामर्श, व्यवस्थापकीय योजना तथा बजेटको खाका बनाउन थालिएको छ। निर्वाचन खर्च व्यवस्थापनका लागि नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आवश्यक रकम सुनिश्चित हुनेगरी बजेट परिमार्जन गर्ने घोषणा गरिसकेका छन्।

‘जेनजी पुस्ता’को भदौ २३–२४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसको तीन दिनमै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै प्रतिनिधिसभा विघटनको घोषणा गरेका थिए। सोही निर्णयअनुसार आयोगले अब फागुन २१ को निर्वाचनलाई लक्षित गरी पूर्ण तयारीको गति बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *