आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ ।

शनिबार सचिवालयमार्फत भिडियो सार्वजनिक गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउनुभयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताउनु भएको हो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’’

आफूविरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताउनुभयो। उहाँले थप भन्नुभयो, ‘‘१३ गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेको छु, अरु विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्दछु।’’

गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पार्नुभयो। गृहमन्त्री लेखकले आफ्नाविरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउनुभयो। ‘‘गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौँ लाख कर्मचारी छन्। त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु गर्नसक्छ। कुनैपनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ। मेराविरुद्ध राजनीतिक रुपले, नियोजित रुपले षड्यन्त्रमुलक ढंगले झुटो प्रचारबाजी भइरहेको छ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *