काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत राखिएका तीन संवेदनशील विभागलाई सरकारको ताजा निर्णयले पुनः सम्बन्धित मन्त्रालयमा फर्काइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै संरचनाअनुसार मन्त्रालय मातहत ल्याउने निर्णय गरेको हो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत रहनेछन्। राष्ट्रिय अनुसन्धान विभाग भने अब गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्नेछ।
यी तीनवटै विभाग २०७५ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहत ल्याएका थिए। २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले करिब दुई तिहाइ बहुमत पाएपछि ओलीले शक्ति केन्द्रित गर्ने उद्देश्यसहित यस्तो कदम चालेका थिए।
सरकारको यो निर्णयसँगै संवेदनशील विभागहरू पुनः आफ्नो मूल मन्त्रालयमा फर्किएर पूर्ववत् प्रणालीमै संचालन हुने भएका छन्।