काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस कुनै व्यक्तिको दास वा निष्क्रिय ‘लास’हरूको पार्टी नभई सचेत र जिउँदो विचार बोकेको कार्यकर्ताको पार्टी भएको स्पष्ट पारेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसभित्र सबै बराबर रहेको उल्लेख गरे। उनले पार्टीमा कसैलाई “बा” मानेर नबोल भन्ने संस्कृति नरहेको भन्दै विचार र आवाजलाई सम्मान गरिने बताए।
“कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदो मानिसको पार्टी हो। यहाँ सबै बराबर छन्, बोल्न कसैको अनुमति चाहिँदैन,” थापाले भने। महामन्त्री थापाले पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको स्पष्ट माग उठिरहेको जनाउँदै प्रतिनिधिहरूले अब कांग्रेसलाई नयाँ दिशातर्फ लैजान चाहेको बताए। उनले यो परिवर्तनको प्रक्रिया अन्ततः कहाँ पुगेर टुंगिन्छ भन्ने विषयमा आफूलाई पनि थाहा नभएको स्वीकार गरे।
“प्रतिनिधिहरूले नीति पनि बदल्ने, नेता पनि बदल्ने आवाज उठाइरहनुभएको छ। यो प्रक्रिया कहाँ पुग्छ, अहिले भन्न सक्दिनँ,” उनले भने, “तर कांग्रेसका नेता–कार्यकर्ता कसैको दास होइनन्।”
