काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा जनअपेक्षा अनुरूप पारदर्शी, सुशासनमुखी र भ्रष्टाचारमुक्त शासनको प्रतिबद्धता जाहेर गरेकी छन्।
शुक्रबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनको मर्म आत्मसात गर्दै देशलाई राजनीतिक संक्रमणबाट पार लगाउने अठोट सुनाइन्। “यो सरकार पदको लोभका लागि होइन, जनआकांक्षा पूरा गर्ने दृढ संकल्पका साथ बनेको हो,” कार्कीले भनिन्।
उनले पारदर्शिता, कानूनी समानता, सुशासन र विकासलाई सबै पुस्ताको साझा राष्ट्रिय एजेन्डा बताउँदै छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने संवैधानिक प्रतिवद्धता दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना र प्रभावित व्यवसायको पुनर्निर्माण तथा पुनर्स्थापना सरकारका प्राथमिक एजेन्डामा रहेको उल्लेख गरिन्। लोकतान्त्रिक मूल्य र कानूनी राज्यमा कमीका कारण वर्तमान अवस्था आएको स्वीकार गर्दै उनले संक्रमण व्यवस्थापनमा युवा पुस्ताको आग्रह अनुसार नेतृत्व लिएको पनि स्पष्ट पारिन्।