जेन-जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैनौं : सुदन गुरुङ

‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेन-जी पुस्ताको मागलाई सम्बोधन नगरे आगामी चुनाव हुन नदिने चेतावनी दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले सरकारलाई चेतावनी दिएका हुन्।

गुरुङले गृहमन्त्री अर्याल जनताको आवाज सुन्न र जनताको भरोसा कायम राख्न पूर्ण रूपमा असफल भएको आरोप लगाए। ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन-जीलाई कारबाही गर’ सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ उनले लेखेका छन्।

दुई महिनाको कार्यकाल बितिसक्दा पनि गृहमन्त्रीले कुनै पनि भ्रष्टाचारी वा हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै गुरुङले उनको कार्यक्षमतामाथि प्रश्न उठाए।

उनले आफूहरूले २०८४ को चुनाव २०८२ मा सार्नका लागि आन्दोलन नगरेको स्पष्ट पार्दै यदि नेपाली जनता र जेन-जीका मागहरू सम्बोधन नभए चुनाव नै हुन नदिने अडान व्यक्त गरे।

गुरुङले गृहमन्त्रीलाई आफ्नो वाचा पूरा गर्न नसके पद छाड्न आग्रह गरेका छन्। ‘काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्। ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ,’ उनले भनेका छन।

उनले प्रधानमन्त्रीको प्रिय पात्र भएकै भरमा पद सुरक्षित रहने भ्रममा नपर्न पनि चेतावनी दिएका छन्।

जेन-जी आन्दोलनका मागहरूमा भ्रष्टाचारीलाई कारबाही, सुशासन, युवाका मुद्दाहरूलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयहरू रहेका छन्।

गुरुङले यी मागहरू पूरा नभएसम्म आफूहरूको आन्दोलन नरोकिने र त्यसको परिणाम सरकारले भोग्नुपर्ने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *