काठमाडौं । भारतको नयाँ दिल्लीमा श्रीमती रबिलक्ष्मी चित्रकारको उपचारका क्रममा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सन्देश पठाउँदै अहिलेको राजनीतिक परिस्थितिमा पार्टी पुनर्गठन र रूपान्तरणको ऐतिहासिक आवश्यकता रहेको बताएका छन्।
खनालले लेखेका छन् — “कुबेलाको सहनाई नवजाऔं, एउटा सशक्त क्रान्तिकारी पार्टी बनाउने मार्गमा अघि बढौं।”
उनका अनुसार गत २३–२४ भदौको घटनापछि मुलुकको राजनीतिमा आएको तीव्र परिवर्तनले देशलाई नयाँ दिशातर्फ धकेलेको छ। उनले भनेका छन्, “२३ गतेको जेनजेड आन्दोलन र २४ गते विध्वंसकारीहरूद्वारा गरिएको महाविध्वंसपछि ओली सरकार विघटन हुन पुग्यो। अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ र संसद विघटनसहित प्रतिनिधिसभाको नयाँ निर्वाचनको घोषणा भएको छ।”
खनालले यस घटनाले मुलुकको राजनीतिमा विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको बताएका छन्। “मैले नयाँ वर्षको शुभकामनामा नै पुनर्गठन र रूपान्तरणको बाटो बनाउन आग्रह गरेको थिएँ, अहिले समयले हामीलाई ठिक त्यही ठाँउमा ल्याइ पुर्याएको छ,” उनले लेखेका छन्।
उनका अनुसार युवा आन्दोलनको विस्फोट फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र नभई, दुई तिहाइ भन्दा बढी बहुमतसहित सत्तामा रहेका दलहरूको घोर असफलताको परिणाम पनि हो। उनले स्पष्ट रूपमा भनेका छन्, “मुलुकलाई यो दुःखद अवस्थामा ल्याउने जिम्मेवारी सत्तामा रहेका पार्टी र नेतृत्वले लिनैपर्छ। मुलुकलाई सही दिशा दिने काम राजनीति र राजनीतिक पार्टीले नै गर्न सक्छ, र त्यसमा वामपन्थी दलहरूको जिम्मेवारी अझ ठूलो छ।”
खनालले अहिले मुलुकमा पुनर्गठन र रूपान्तरणको माग सर्वत्र उठिरहेको उल्लेख गर्दै लेखेका छन्, “हामी देखिरहेका छौं , साना ठूला सबै पार्टीहरूमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजनको प्रक्रिया चलिरहेको छ। यही कारण अहिलेको समयको माग पुनर्गठन र रूपान्तरण हो। यो केवल पुस्तावादको माग होइन, यो सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो।”
उनले पार्टी एकीकरणको हतार नगरी पहिले आत्ममूल्यांकन र समीक्षा गर्न आह्वान गरेका छन्। “हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौं। सबैभन्दा पहिले हाम्रो चार वर्षे बिद्रोह यात्राको गम्भीर समीक्षा गरौं। ठिक बेठिक के गर्यौं, दूध र पानी छुट्याऔं,” उनले लेखेका छन्।
खनालले पार्टी भित्रका युवाहरूको आवाज सुनेर पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, “पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको समाजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं। यही दिशामा सबै क्रान्तिकारी, कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौं। एउटा वृहत राष्ट्रिय मोर्चा निर्माण गरौं र आगामी प्रतिनिधिसभा निर्वाचनमा बृहत् योजनासहित अघि बढौं।”
अन्त्यमा उनले सन्देशमा भनेका छन्, “कुबेलाको सहनाई बजाउन तिर कोही पनि नलागौं। सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक मागतिर अघि बढौं।”

