डा. गोविन्द केसीद्वारा निजी मेडिकल कलेजलाई पोस्ने निर्णय फिर्ता लिन सरकारलाई अल्टिमेटम

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारले निजी मेडिकल कलेजलाई फाइदा हुनेगरी गरेको निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्। अन्यथा पुनः सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

शनिबार जारी विज्ञप्तिमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार शेरबहादुर देउवामाथि स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई व्यवसायीक स्वार्थअनुसार सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। “नेपाल विश्वमै स्वास्थ्य र शिक्षामा सबैभन्दा कम लगानी गर्ने मुलुक हो, ग्रामीण क्षेत्रमा सेवा अभाव छ, तर ओली–देउवा गठबन्धन सरकार निजी मेडिकल कलेजलाई पोस्ने काममा लागेको छ,” विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा अर्बौं खर्चेर भ्युटावर निर्माण गर्न प्राथमिकता दिए पनि पहाडी जिल्लामा माग हुँदाहुँदै मेडिकल कलेज र अस्पताल स्थापना नगरेको भन्दै केसीले आक्रोश प्रकट गरेका छन्। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि पनि उनले ऐन नियम तोडेर माफियालाई सहयोग गरेको आरोप लगाएका छन्।

कैलालीमा पाँच वर्षअघि निर्माण सम्पन्न भएको सरकारी मेडिकल कलेज अझै सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गर्दै केसीले चिकित्सा शिक्षा आयोगले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट बढाउने निर्णयलाई ‘मुनाफामुखी र दुर्भाग्यपूर्ण’ भनेका छन्।

उनले सिट बढाउने निर्णय तत्काल खारेज गर्न, शुल्क वृद्धि रोक्न, आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिन र विगतका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *