काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश गम्भीर संकट रहेको बताएका छन्। मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले जेन–जी आन्दोलनपछि राष्ट्र अझै संकटमुक्त नबनेको दाबी गरे।
उनका अनुसार आन्दोलनका क्रममा नेपाली सेनाले चाहेर पनि ऐतिहासिक सम्पदाको रक्षा गर्न नसकेको अवस्था देखियो, जसले राष्ट्र राज्यविहीनताजस्तो अवस्थामा पुगिरहेको संकेत दिएको छ। प्रचण्डले सेनाले मात्र देशको स्वाधीनता र जनताको आत्मसम्मान जोगाउन नसक्ने स्थिति आएको उल्लेख गरे।
“अब आवश्यक परे तीन करोड नेपाली नै राष्ट्रिय फौज बन्ने ताकत देशले विकास गर्नुपर्छ,” उनले भने। जरुरी बेला सम्पूर्ण जनता राष्ट्रका लागि उभिन तयार नहुने हो भने देशले ठूलो संकट झेल्नुपर्ने प्रचण्डको चेतावनी छ।
