दैनिक जीवन सहज बनाउने योजनामा महानगरको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकको दैनिक जीवन सहज बनाउने योजनालाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको बताएका छन्। स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधार विकासका कार्यक्रमलाई महानगरले गौरवका योजनाका रूपमा अघि बढाएको उनको भनाइ छ।

३१औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले महानगरपालिका आम महानगरवासीको हितका लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा प्रशासनिक क्षेत्रमा नियमित काम गरिरहेको बताए। त्यससँगै नागरिकको प्रत्यक्ष जीवनसँग जोडिने र आम सरोकारका योजनालाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिएको उनले स्पष्ट पारे।

‘काठमाडौं महानगरपालिका आममहानगरवासीको हितका लागि काम गरिरहेको छ,’ उनले भने, ‘नियमित कार्यसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधार विकासका कार्यक्रमलाई गौरवको योजनाका रूपमा कार्यान्वयनमा ल्याइएको छ।’

प्रमुख शाहका अनुसार धूलोरहित सडक अभियान अन्तर्गत ५५ किलोमिटर सडक सुधारको काम सम्पन्न भइसकेको छ। यस्तै, ६२ वटा चोकमा बत्ती जडान गरिएको छ भने सडक बत्तीको गुणस्तर सुधार र रात्रिकालीन सहरी सौन्दर्य एकरूप बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती जडान गरेर सहर उज्यालो बनाइँदैछ।

‘आम नागरिकको प्रत्यक्ष चासोसँग जोडिएका निरन्तर सञ्चालन हुने कार्यलाई स्वर्णिम योजनाका रूपमा अघि बढाइएको छ,’ उनले भने, ‘यसअन्तर्गत धूलोरहित सडक, चोक प्रकाश, रात्रिकालीन सौन्दर्य र उज्यालो सहर निर्माणमा उल्लेख्य प्रगति भएको छ।’

स्वास्थ्य क्षेत्रतर्फ महानगरले यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकका लागि उपचार सिफारिस गरेको छ भने बेवारिसे, विपन्न र बेसाहाराका लागि निःशुल्क उपचार कार्यक्रमअन्तर्गत २ सय १० जनालाई सेवा प्रदान गरिएको जानकारी पनि प्रमुख शाहले दिए।

उनका अनुसार ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्था तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ। साथै, १० वटा स्वास्थ्य केन्द्रलाई बिमा प्रणालीका प्रथम सेवा विन्दुका रूपमा सञ्चालन गरिएको छ।

महानगरपालिकाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनालाई केन्द्रमा राखेर सेवा प्रवाह गरिरहेको भन्दै प्रमुख शाहले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *