काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
आज परराष्ट्र मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय सांसद, उद्योगी–व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालासँग भेटवार्ता गर्दै मन्त्री राणाले उक्त प्रतिबद्धता व्यक्त गरिन्।
उनका अनुसार नेपालगन्ज–दिल्ली उडानको एजेन्डालाई सरकारले प्राथमिकतामा राखेको छ र यसले नेपाल–भारत दुवैलाई पारस्परिक लाभ पुग्नेछ। “कनेक्टिभिटी बढाउने हो भने नेपाललाई पर्यटन, व्यापार, पारवहन र जनसम्पर्कमा ठूलो फाइदा हुन्छ,” उनले भनिन्, “त्यसैले म यो उडान सुरु गर्न लागिपर्छु।”
मन्त्री राणाले यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने र क्षेत्रको विकासको गति बढाउने बताइन्। नेपालगन्जमा होटलसहितका पर्यटन पूर्वाधार तयार भइसकेकाले अब यसलाई अमलमा ल्याउन गम्भीरताका साथ पहल गर्ने उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस मुद्दालाई प्राथमिकताको एजेन्डा बनाउन बाँके र बर्दियाका सर्वपक्षीय टोलीले आज मन्त्री राणालाई आग्रह गरेका थिए।
उक्त टोलीले नेपालगन्जलाई ‘मानसरोवर गेटवे’का रूपमा विकास गर्न सिधा उडान अपरिहार्य रहेको बताउँदै, यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे। साथै, नेपालगन्ज विमानस्थलमा प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सक्ने क्षमतासहित आवश्यक पूर्वाधार निर्माण भइसकेको जानकारी पनि गराइयो।