नेपाली कम्युनिष्ट पार्टी नेपालको राजनीतिमा उदाउँदो ‘चम्किलो तारा’ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा उदाउँदै गरेको ‘चम्किलो तारा’ भएको बताएका छन् । बिहीबार बाँकेको नेपालगञ्जमा आयोजित जिल्ला स्तरीय एकता सन्देश सभामा बोल्दै उनले पार्टीको नामकरणदेखि एकताको आवश्यकता समेत प्रष्ट पारे ।

न एमाले, न माओवादी, न समाजवादी , यी नामहरूको भ्रमबाट पार्टी बाहिरिसकेको छ । “हिजो हामी कहिले एमाले, कहिले माओवादी, कहिले समाजवादी भन्थ्यौँ । अब हामी ‘नेपाली कम्युनिष्ट पार्टी’ भएर जनता बीच उज्यालो तारा जस्तै चम्किरहेका छौँ,” नेपालले भने ।

हाल पुराना दल र नेताहरूको भूमिका समाप्त भयो भन्ने प्रचारलाई उनले खारेज गर्दै अनुभव, संघर्ष र समर्पणको मूल्य कहिल्यै कम नहुने बताए । उनका अनुसार, “सुनजस्तै नेता पनि आन्दोलन र संघर्षको भट्टीमा पोलिएर मात्र चम्किन्छन् । त्याग र तपस्याको परीक्षाबाट उर्तिएका नेताकै हातमा देश सुरक्षित हुन्छ ।”

नेता नेपालले समाजवादको मूल कुरा जनताको आधारभूत आवश्यकता पूरा गर्नु भन्ने बताउँदै आफ्नो नेतृत्वमा सुरु गरिएको ‘जनता आवास कार्यक्रम’ स्मरण गरे । “जसको घर छैन, उसलाई सरकारकै पहलमा घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ,” उनले भने ।

सभामा उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई सक्रिय हुन आह्वान समेत गरे । “अब नयाँ नेपालको सपना बोकेर चुनावमा होमिनुपर्छ । हामी सहभागी हुन्छौँ र जित हासिल गर्छौँ,” उनले आत्मविश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *