पूर्वराष्ट्रपति भण्डारीको सन्देश: ‘एमाले नेताहरूले मेरो पत्र पढून्’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई आफूले पठाएको पत्र ध्यानपूर्वक अध्ययन गरेर सुझाव दिन आग्रह गरेकी छन्। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन नपाएपछि उनले शुभकामना सन्देशमार्फत यस्तो आग्रह गरेकी हुन्।

एमाले सचिवालय बैठकले पार्टी सदस्य नभएका व्यक्तिलाई विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेपछि भण्डारी अधिवेशनमा वञ्चित भएकी हुन्। बिहीबार साँझ बसेको बैठकले सदस्यता नवीकरण नभएकी पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिका रूपमा सहभागी गराउन नसक्ने स्पष्ट पारेको थियो।

अधिवेशनमा सहभागी हुन नपाएपछि उनले भिडियो सन्देशमार्फत एमाले नेताहरूलाई सफलताको शुभकामना दिँदै पठाएको पत्र अध्ययन गर्न आग्रह गरिन्। सन्देशमा उनले एमाले र आफ्नो उद्देश्य एउटै रहेको उल्लेख गर्दै सबै मिलेर “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिइन्।

भण्डारीले एमालेको काँधमा देश विकास र समृद्धिको ठूलो जिम्मेवारी रहेको बताउँदै त्यसलाई पूरा गर्न भावनात्मक र सङ्गठनात्मक एकता आवश्यक हुनेमा जोड दिएकी छन्। साथै, विधान अधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त हुने विश्वास पनि व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *