काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै मजबुत रहेको र नेकपा एमाले कहिल्यै नसकिने, अजम्बरी पार्टी भएको दाबी गरेका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा सुरु भएको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
तीन महिनाअघि भएको ‘जेनजी आन्दोलन’को स्मरण गर्दै ओलीले त्यसबेला देश युद्धभूमिजस्तै अवस्थामा पुगेको बताए। उनले भने, “जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो, आतताही गतिविधिबाट आगो लगाइएको थियो। संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला भएको थियो। पुराना पार्टी सकिए, पुराना नेताको समय सकियो र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिएको थियो।”
तर ती सबै धुवाँ, खरानी र निषेधका प्रहारलाई चिर्दै आज भक्तपुरमा विशाल जनसागर उर्लिएको ओलीको भनाइ छ। उनले उत्साहित हुँदै भने, “आज यहाँ उर्लिएको यो जनसागरले स्पष्ट सन्देश दिएको छ , लोकतन्त्र अझै जीवित छ र नेकपा एमाले अजम्बरी छ।”
ओलीले महाधिवेशनले पार्टीलाई अझ सुदृढ, एकताबद्ध र भविष्यप्रति आत्मविश्वासी बनाउने विश्वास पनि व्यक्त गरे।
