वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको बताएका छन् । बिहीबार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ’ प्रचण्डको भनाइ थियो । उनले प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार भ्रष्टाचारमा लिप्त हुने र जनभावनाविपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।’ देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै जटिल मोडमा रहेको बताउँदै प्रचण्डले भने, ‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ ।’ उनले युवालाई संगठित गरेरमात्रै परिवर्तन उल्ट्याउनेहरूविरुद्ध सफलता हात पार्नसक्ने धारणा सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *