काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता प्रदान गर्न नसकिने स्पष्ट पारेका छन् ।
शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताए ।
ब्रिटिश गोरखा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरताको माग राख्नु स्वाभाविक भए पनि विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने देउवाको भनाइ छ ।
उनले भने, ‘विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सम्भव छैन । तर, अन्य सुविधाका लागि एनआरएन नागरिकता प्रदान गर्न सकिन्छ । हाम्रो जस्तो सानो देशमा यो विषय जटिल छ। नागरिकताबारे छलफल जारी छ । नेपाल फर्किन चाहनेलाई सधैँ स्वागत छ ।’
देउवाले ब्रिटिश गोरखा सैनिकहरूको मागबारे संसदीय समितिमा छलफल भइरहेको र चाँडै निष्कर्ष निस्कने बताए । उनले भने, ‘ब्रिटिश गोरखा सैनिकहरूले बेलायती सैनिकसरह सेवा–सुविधा पाउनुपर्छ भन्ने नेपालको अडान स्पष्ट छ । उहाँहरूको नागरिकता निरन्तरताको मागबारे राजनीतिक दलहरूबिच छलफल चलिरहेको छ। एनआरएन नागरिकताको अवधारणालाई पनि ध्यानमा राखेर समाधान खोजिनेछ ।’