काठमाडौँ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच देशको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको छ । छलफलमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्ने विषयमा समझदारी बनेको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको विषयमा थप विस्तृत र ठोस छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बैठक बस्ने सहमति भएको छ । उक्त बैठकमार्फत निर्वाचन सम्पन्न गर्न आवश्यक राजनीतिक सहकार्य र वातावरण निर्माणका विषयमा ठोस निर्णय लिने तयारी गरिएको छ ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थाबाट निकास निकाल्न निर्वाचन नै सबैभन्दा उपयुक्त लोकतान्त्रिक विकल्प भएको उल्लेख गर्दै तय मितिमा निर्वाचन सम्पन्न गर्न सरकार र प्रमुख दलहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
उनले लोकतान्त्रिक प्रक्रिया र जनताको अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्न आग्रहसमेत गरेका छन् ।
