शून्य अंक दिने महानिर्देशक मण्डललाई हटाए कुलमानले

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कडा कदम चालेका छन्। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहँदा आफ्नो कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिने तत्कालीन सहसचिव जीवछ मण्डललाई विभागीय प्रमुखबाट हटाउँदै मनदेवी श्रेष्ठलाई विद्युत् विकास विभागको पहिलो महिला महानिर्देशक नियुक्त गरेका हुन्।

करिब डेढ महिनाअघि तत्कालीन मन्त्री दिपक खड्काले मण्डललाई महानिर्देशक बनाएका थिए। तर मन्त्री बनेपछि घिसिङले उच्च तहका कर्मचारीको सरुवा र खटनपटन थालेका छन्। मण्डललाई मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रिस्तरीय निर्णयमार्फत शुक्रबार यो कदम औपचारिक भएको हो।

यसअघि गत चैत ११ मा मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। पछि शाक्यलाई असोज ५ मा जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाइएको हो।

घिसिङले भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि सम्हालेका छन्, तर ती मन्त्रालयमा भने हालसम्म कर्मचारी सरुवा गरिएको छैन। ऊर्जा मन्त्रालयले भदौ १८ र २० मा गरेको सरुवा निर्णय पनि रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *