समयमा सडक नबनाउने ठेकेदारको बिरोधमा जनप्रतिनिधिले चक्काजाम गर्ने

धनगढी । जनताको समस्या समाधान गर्ने जिम्मा पाएका जनप्रतिनिधि नै सडकमा उत्रनुपर्ने अवस्था आएको छ । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारको चरम लापरवाही भएको भन्दै कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिले सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आज अत्तरिया चोकमा पत्रकार सम्मेलन गर्दै गोदावरी–३, १०, ११ र १२ का वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले भोलिदेखि बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा चक्काजाम गर्ने चेतावनी दिएका हुन् ।

जनप्रतिनिधिहरुको आरोप अनुसार, एक वर्षमै सम्पन्न हुनुपर्ने सडक निर्माण कार्य ६ वर्ष बित्दा पनि अधुरै छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठेकेदार कम्पनीहरुले काम नगरेपछि आफूहरु बाध्य भएर सडक आन्दोलनमा उत्रिएको वडा १० का अध्यक्ष रवीन्द्र शाहीले बताए ।

२०७७ भदौ ७ मा सम्झौता भएको २.२ किलोमिटर सडक अहिले पनि ५० प्रतिशत मात्र बनेको छ भने, २०७९ चैतमा सम्झौता भएको अर्को ३ किलोमिटर खण्ड अझै आधा पनि निर्माण भएको छैन । सडकमा निर्माण सामग्री छरपस्ट छाड्ने, काम गरेको देखाउने मात्र गर्ने र समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीलाई जनप्रतिनिधिहरुले कालोसूचीमा राख्न माग गर्दै आएका छन् ।

“मेरो पहिलो कार्यकालमै ठेक्का भएको सडक, दोस्रो कार्यकालको तीन वर्ष बित्दा पनि बनेको छैन,” वडा १२ का अध्यक्ष भीमबहादुर खड्काले असन्तुष्टि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *