काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्न माग गरेको छ। पार्टीले देशलाई वास्तविक राजनीतिक निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।
कपिलवस्तुमा असोज २६ देखि ३० गतेसम्म सम्पन्न विशेष केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आइतबार विज्ञप्ति जारी गरेका हुन्। उनले भने, “देशलाई निकास दिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन अनिवार्य छ।”
नेकपाका अनुसार नयाँ बन्ने अन्तरिम सरकारमा जेनजी (युवा), किसान, मजदुर, महिला, दलित, जनजाति, मधेसी, बुद्धिजीवी र विभिन्न राजनीतिक दलहरूको समावेश हुनुपर्नेछ। सो सरकारले विशेष कार्यकारी अधिकारसहित संविधान संशोधन गर्ने, उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्ने र राज्यको पुनर्संरचना गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्ने प्रस्ताव नेकपाले अघि सारेको छ।
पार्टीले उत्पीडित जाति र वर्गहरूको अग्रअधिकार सुनिश्चित गर्दै समाजवादी संघीय राज्य निर्माण गर्ने आवश्यकता पनि औंल्याएको छ।
विप्लव नेतृत्वको नेकपाले ‘जेनजी विद्रोह’ले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको उल्लेख गर्दै अबको प्राथमिकता राजनीतिक व्यवस्थाको रूपान्तरण र जनसहभागितामूलक शासन प्रणाली निर्माणमा केन्द्रित हुने बताएको छ।