१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लामो समयपछि आफ्नो घर पुगेकी छन् । उनी मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीमा रहेको पति स्वः मदन भण्डारीको निवास पुगेकी हुन् ।
करिब १० वर्षपछि सोमबार दिउँसो घरमा पुगेकी उनले करिब २ घण्टा त्यहाँ बिताइन् र स्थानीयसँग भलाकुसारी पनि गरिन् । सातमेडी पुगेर विद्याले मदन भण्डारीले गरेका मिहिनेत सम्झिन् । आफ्ना विगत सम्झने क्रममा उनले पार्टी जन्मिएको स्थानलाई नेताहरुले नहेरेको गुनासोसमेत गरिन् ।
‘पुरानो घर पुगेर उहाँले सबै हेर्नुभयो । विगत पनि सम्झनु भयो,’ नेकपा एमाले मोरङका सचिव सोमराज थापा भन्छन्, ‘आफन्त र गाउँका साथीभाइसँग भेटघाट गर्नुभयो ।’ उनका अनुसार लामो समयपछि भण्डारी आफ्नो पुरानो घर पुगेकी थिइन् ।
उनले पार्टी जन्मिएको घरलाई पार्टीका नेताले नहेरेको गुनासो गरिन् । उक्त घरमा विद्यालाई मदनले भित्र्याएका थिए । मदन भण्डारीको घर अहिले मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा छ । घर पुरानै संरचनामा छ । भण्डारीको घर जग्गालाई तारबारले घेरेर राखिएको छ । धेरै वर्षमा पुग्दा पनि ठाउँ जस्ताको त्यस्तै रहेको उनको गुनासो रहेको एमाले नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *