काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर २०८४ को चुनाव जित्ने नेताहरूको ‘दिवा सपना’बाट ब्युँझिन चेतावनी दिएका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले बजेटलाई राजनीतिक स्वार्थ पूरा गर्ने साधन बनाउन खोज्ने प्रवृत्तिको कडा आलोचना गरे ।
‘आफ्नो क्षेत्रमा मात्र बजेट हालेर चुनाव जित्छु भन्ने सोच्ने नेताले कुन क्षेत्रबाट लड्ने हो, भन्नुस् । म २०८४ मा त्यही क्षेत्रमा चुनाव लड्न आउँछु,’ सांसद श्रेष्ठले चुनौती दिँदै भने, ‘बजेट कब्जा गर्ने नीतिले चुनाव जितिन्छ भन्ने सपना नदेख्नुस् । जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर आफ्नो स्वार्थ सिद्ध गर्ने नेताहरू ब्युँझिनुपर्छ ।’
उनले देशका १६५ निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको सम्मान गर्न र राज्यको स्रोतसाधनमा सबैको समानुपातिक अधिकार सुनिश्चित गर्न माग गरे । ‘के १६५ क्षेत्रका जनताले कर तिरेका छैनन् ? उनीहरूको स्रोतसाधनमा अधिकार छैन ?’ उनले प्रश्न गरे ।
सांसद श्रेष्ठले सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको आरोप लगाए । उनले सत्तापक्ष, ठुला नेता, मन्त्री, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीका क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने प्रवृत्ति यो वर्ष पनि दोहोरिएको दाबी गरे । ‘यो सरकारको ढुकुटी के सत्तापक्ष र ठुला नेताका लागि मात्र हो ?’ उनले प्रश्न गरे ।
बजेट विनियोजनमा निष्पक्षता र समानता कायम गर्न सरकारको ध्यानाकर्षण गराउँदै सांसद श्रेष्ठले जनताको करको दुरुपयोग रोक्न र समावेशी विकासमा जोड दिन आग्रह गरे ।