८ दलको संयुक्त माग : प्रतिनिधि सभा विघटन फिर्ता लिएर तत्काल बैठक बोलाउन

काठमाडौं । विघटित प्रतिनिधि सभाका आठ राजनीतिक दलका प्रमुख सचेतकहरूले संसद् विघटनलाई जनआन्दोलनको मर्म र नेपालको संविधानविपरीत ठहर गर्दै तत्काल संसद्को बैठक बोलाउन माग गरेका छन्।

शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादित नजिर तथा सिद्धान्तहरू र नेपालको संवैधानिक परम्पराविपरीत छ। यसले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रत्यक्ष प्रहार गरेको छ।”

त्यसैले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाएर जनता र आन्दोलनरत समूहको मागलाई जननिर्वाचित संस्थाबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न सबै सम्बन्धित पक्षसँग जोडदार अपिल गरिएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरू छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसमा हस्ताक्षर गरेको छैन।

विज्ञप्तिमा संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै तत्काल पुनर्स्थापनाको माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *