काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके निर्वाचन क्षेत्र नं.–३ मा युवा नेता दीपक जि.एम. चुनावी मैदानमा उत्रिएका छन्।
आफ्नो उम्मेदवारीलाई उनले व्यक्तिगत आकांक्षा नभई पुस्तागत जिम्मेवारीका रूपमा परिभाषित गरेका छन्।
स्थानीय बैजनाथको माटोमा हुर्किएका दीपक जि.एम. बाँके–३ का युवाको सपना, किसानको पीडा, श्रमिकको पसिना र आम नागरिकको भरोसालाई संसदसम्म पुर्याउने अठोटसहित उम्मेदवार बनेका हुन्। “पुरानै शैलीले अब समस्या समाधान हुँदैन,” भन्ने निष्कर्षसहित उनले स्थानीय नेतृत्वको आवश्यकता औंल्याएका छन्। विगतमा बाहिरी क्षेत्रका उम्मेदवार आएर चुनाव जिते पनि क्षेत्रको दिगो विकासमा अपेक्षित पहल हुन नसकेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको प्रमुख कारण बनाएका छन्।
बैजनाथ, खजुरा र जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाका दुई वडासमेत समेटिएको बाँके–३ को समग्र विकासका लागि स्थानीय प्रतिनिधि अपरिहार्य रहेको उनको धारणा छ। उनले युवापनलाई उमेरसँग होइन, सोचसँग जोड्दै निर्णयमा साहस, काममा गति र नीतिमा स्पष्टता आफ्नो पहिचान भएको बताउँछन्।
उनको चुनावी अभियानमा जेन्जी (Gen-Z) पुस्ता केन्द्रमा छ। घरदैलो अभियानदेखि सामाजिक सञ्जाल, नीति बहसदेखि संगठन निर्माणसम्म युवाहरू अग्रपंक्तिमा रहेको उनी बताउँछन्। रोजगारी, शिक्षा, प्रविधि र अवसरका सवालमा जेन्जीको विश्वास जित्नु नै आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।
चुनाव चिन्ह ‘तारा’ लाई उनले आशा र उज्यालोको प्रतीकका रूपमा अर्थ्याएका छन्। अँध्यारोमा बाटो देखाउने उज्यालो जस्तै, बाँके–३ का जनताका समस्याको समाधानतर्फ स्पष्ट दिशा दिने संकल्प नै ‘तारा’ भएको उनको दाबी छ। १९ वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा रहेको उल्लेख गर्दै उनले सुशासन र स्थिरताका लागि यसपटक तारा चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
यदि निर्वाचित भए पहिलो प्राथमिकतामा स्थानीय रोजगारी सृजना, युवा सीप विकास तथा उद्यमशीलता, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता रहने उनले स्पष्ट पारेका छन्। यी चार स्तम्भमा ठोस र देखिने काम सुरु गर्ने प्रतिबद्धता उनको छ।
मतदातालाई सन्देश दिँदै उनले यो चुनाव व्यक्ति होइन, पुस्ताको भएको बताएका छन्। “मौन बस्ने होइन, परिवर्तन रोज्ने समय हो,” भन्दै उज्यालो भविष्यका लागि तारा चिन्हमा मत दिन सबैलाई आह्वान गरेका छन्।
आँफु खोक्रो वाचाको होइन, कामको राजनीति गर्ने प्रतिनिधि बन्न चाहेको बताउँदै दीपक जि.एम. बाँके–३ को आवाज संसदमा बुलन्द बनाउने दृढ संकल्पसहित चुनावी मैदानमा रहेको बताउँछन्।
