काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि बर्खास्तीको जोखिम बढेको छ । मेयर बालेन्द्र शाह (बालेन) का निकट सहयोगी मानिने पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेपछि थप कारबाहीको त्रास देखिएको हो । पाण्डेमाथि अनुशासनहीनता, अनधिकृत मिडिया सम्पर्क, जनप्रतिनिधिसँग अमर्यादित व्यवहार, तनाव बढाउने कार्य र गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेको आरोप लागेको छ ।
निलम्बनको मुख्य कारण २०८१ चैत २१ को घटनासँग जोडिएको छ, जसमा पाण्डेले मेयर शाहको निर्देशनमा नगर प्रहरी परिचालन गरी गुरागाईंलाई कमलादीस्थित काठमाडौं प्लाजाको कार्यालय प्रवेशमा रोक लगाएका थिए । गुरागाईं कार्यालय छिरेपछि पाण्डे नेतृत्वको टोलीले कर्मचारीमाथि बल प्रयोगको प्रयास गरेको आरोप छ । जेठ ६ गते गुरागाईंले स्पष्टीकरण सोधेका थिए । पाण्डेले जेठ १२ मा सात बुँदे स्पष्टीकरण बुझाउँदै मेयरको आदेश पालना गरेको दाबी गरे, तर गुरागाईंले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरे ।
पाण्डेले महानगरको ट्राफिक व्यवस्थापन, नदी किनारको अतिक्रमण हटाउने र धरहरा क्षेत्रमा निःशुल्क पार्किङ लागू गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर, उनको कठोर कार्यशैली र कर्मचारीसँगको विवादले आलोचना निम्त्याएको थियो । उपमेयर सुनिता डङ्गोल र वडाध्यक्षहरूले उनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
महानगर प्रहरी ऐन, २०८० को दफा ३९ अनुसार, प्रमुख प्रशासकीय अधिकृतले नगर प्रहरी उपरीक्षकलाई सजाय गर्न सक्छन् । विशेष सजायका लागि कार्यपालिकाको सिफारिस चाहिन्छ । पाण्डेलाई सात दिनभित्र थप स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ, अन्यथा बर्खास्तीको सम्भावना छ ।
काठमाडौं महानगरपालिकाले निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) विष्णु जोशीलाई सुम्पिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि जोशीलाई अर्को निर्णय नहुँदासम्म निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
यो निलम्बनले मेयर शाह र सङ्घीय सरकारबीचको तनाव थप चर्किने देखिएको छ । जेठ ५ मा प्रधानमन्त्री केपी शर्मा ओली र मेयर शाहबीचको जुहारीपछि भोलिपल्टै पाण्डेमाथि कारबाही अघि बढेको हो । यो घटनाले महानगरको आन्तरिक शक्ति सन्तुलनमा नयाँ तरङ्ग ल्याएको छ ।