काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नागरिकका समस्या र सुझावलाई प्रत्यक्ष संकलन गर्ने उद्देश्यले ‘सुझाव बैंक’ स्थापना गरेका छन्।
मन्त्री खरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि जनतासँग सीधा संवाद र उनीहरूको आवाजलाई नीतिनिर्माणको प्राथमिकतामा राख्न आवश्यक देखेका कारण यो पहल ल्याइएको हो।
उनले फेसबुकमार्फत सार्वजनिक गरेको सूचनामा जनताको समस्या, सुझाव र सल्लाहलाई व्यवस्थित रूपमा संकलन र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “म सकेसम्म धेरैसँग प्रत्यक्ष भेटघाट गरेर समस्या सुन्न चाहन्छु। तर निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता सरकारका प्राथमिकताले समय अभाव हुन सक्छ। त्यसैले मूल्यवान सुझावमार्फत कामलाई जनमुखी बनाउने मेरो चाहना हो।”
मन्त्री खरेलले नागरिकलाई आफ्नो सुझाव र सल्लाह पठाउन औपचारिक माध्यम पनि सार्वजनिक गरेका छन्।
इमेल: [email protected]
WhatsApp: ९८५१४१०१०१
उनले प्राप्त हरेक सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।
सञ्चार मन्त्रालयको यो ‘सुझाव बैंक’ पहललाई नागरिकसँग प्रत्यक्ष सहकार्य र सरकारको उत्तरदायित्व बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।